आज नेपाल शैक्षिक परामर्श संघ (ECAN)
का नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा भेटघाट
तथा छलफल कार्यक्रम सम्पन्न गरीएको छ। उक्त भेटघाटमा मन्त्रालयका सचिव श्री
चूडामणि पौडेल शैक्षिक प्रमाणीकरण शाखाका प्रमुख श्री सेमन्त राज कोइराला तथा
मन्त्रालयका सूचना विभागका उप–सचिवको नेतृत्वमा रहेको IT टोलीको
सहभागिता रहेको थियो।
भेटका क्रममा मन्त्रालयका सचिव तथा
अधिकारीहरूले ECAN अध्यक्ष लक्ष्मण पौडेल लगायत
सम्पूर्ण नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै
शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विषयहरूमा ECAN सँग
सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलका क्रममा ECAN
को तर्फबाट अध्यक्ष श्री लक्ष्मण पौडेल र महासचिव श्री भवनाथ
हुमागाईंले निम्न महत्वपूर्ण विषयहरू उठाउनुभएको थियोः
१. शैक्षिक परामर्श कम्पनी दर्ता
प्रक्रिया सुचारु गर्ने सम्बन्धमा:
हालसम्म करिब ७५३ वटा
कन्सल्टेन्सीहरूले केन्द्रीय मन्त्रालयमा दर्ताका लागि आवश्यक कागजात पेश गरिसकेका
छन्। कार्यालय अनुगमन समेत सम्पन्न भइसकेको अवस्थामा दर्ताको अन्तिम स्वीकृति
प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न अनुरोध गरिएको।
२. विना दर्ता सञ्चालनमा रहेका
कन्सल्टेन्सीहरूको अनुगमन तथा अनाधिकृत शैक्षिक मेला सम्बन्धमा:
विना दर्ता सञ्चालनमा रहेका
कन्सल्टेन्सीहरूबाट भइरहेका अनैतिक क्रियाकलापहरू तथा पूर्व स्वीकृति बिना सञ्चालन
गरिने शैक्षिक मेलाहरूलाई रोक्न आवश्यक पहल कदमिको लागि मन्त्रालयलाई अनुरोध
गरिएको।
३. वैदेशिक अध्ययन अनुमति पत्र (NOC)
प्रणाली पूर्ण रूपमा स्वचालित बनाउने विषयमा:
हाल NOC आवेदन प्रणाली अनलाइन भए तापनि कहिलेकाहीँ शैक्षिक प्रमाणपत्र
प्रमाणीकरणका लागि आवेदकहरूलाई मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था
रहेकोले पूर्ण रूपमा स्वचालित प्रणाली विकास गरी NOC प्रमाणपत्र
अनलाइनबाट डाउनलोड गर्न सकिने व्यवस्था गर्न अनुरोध गरिएको।
४. जापान अध्ययनका लागि NOC प्रक्रियामा देखिएको ढिलाइ सम्बन्धमा:
हाल जापान अध्ययनका लागि जाने
विद्यार्थीहरूलाई जापान इमिग्रेसनबाट COE जारी भएपछि मात्र NOC प्रदान गर्ने व्यवस्थाका कारण
एकैपटक धेरै आवेदन पर्ने हुँदा प्रमाणीकरण प्रक्रिया लामो भइरहेको र कतिपय
विद्यार्थीहरू समयमै कक्षामा उपस्थित हुन नसक्ने अवस्था रहेको विषय मन्त्रालयसमक्ष
प्रस्तुत गरिएको छ। साथै Admission Letter, Offer Letter वा Acceptance
Letter को आधारमा पनि NOC प्रदान गर्न सकिने
व्यवस्था गर्न अनुरोध गरिएको।
५. MOE को IT प्रणाली विकासमा ECAN को
सहयोग:
केन्द्रीय मन्त्रालयबाट कन्सल्टेन्सी
दर्ता तथा नविकरण प्रक्रियालाई व्यवस्थित गर्न Consultancy
Management System Portal विकास गर्ने कार्यमा ECAN ले मन्त्रालयका IT भेन्डरहरूलाई सहयोग गर्दै आएको छ।
यस विषयमा मन्त्रालयले ECAN माथि गरेको विश्वासप्रति ECAN
ले धन्यवाद व्यक्त गरेको छ। यस पहलका कारण हाल केन्द्रीय
मन्त्रालयको कन्सल्टेन्सी दर्ता/नविकरण सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत
सञ्चालन हुने अवस्थामा पुगेको छ।
अन्त्यमा,
ECAN ले विद्यार्थी, अभिभावक तथा सम्पूर्ण
शैक्षिक परामर्श क्षेत्रको हितका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्दै अघि
बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।