सुदिपा अधिकारी
कार्तिक २३, २०८२, आइतबार
काठमाडौं - सुडानमा एक वर्षभन्दा बढी समयदेखि जारी गृहयुद्धले देशलाई पछिल्लो दशकमा सबैभन्दा भयावह मानवीय संकटतर्फ धकेल्दै लगेपछि संयुक्त राष्ट्र संघ र विश्व खाद्य कार्यक्रमले भोकमरी “विनाशकारी स्तर” मा पुगेको बताएका छन् । सुडान का ठूलो भूभागमा लाखौँ नागरिकहरु भोकमरीको औपचारिक चरणमा छन् । एएफपीले शुक्रबार प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबिचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्रयाउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ ।
सुडानी सेना (SAF) र अर्धसैनिक RSF बीचको भिडन्तले सहायता मार्ग बन्द हुँदा खाद्यान्न तथा औषधि वितरण रोकिएको छ । पश्चिमी क्षेत्रहरूमा सहायता ट्रक लुटिने र केन्द्रहरूमा आक्रमण बढेकाले राहत कार्य झन्डै पूर्ण रूपमा ठप्प छ । एल–फाशेरमा हप्तौँदेखि कुनै आपूर्ति पुगेको छैन । युद्धका कारण बीउ, बाली, उपकरण नष्ट हुनुका साथै किसानहरूको ब्यापक विस्थापनले यस वर्ष सुडानको खाद्य उत्पादन ७० प्रतिशतसम्म घट्ने WFP को अनुमान छ ।
स्वास्थ्य पूर्वाधार ध्वस्तहुँदै जाँदा संयुक्त राष्ट्रसङ्घका अनुसार, एल–फाशेरमा पाँच वर्षभन्दा मुनिका करिब ४० प्रतिशत भन्दा बढी बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, जसमध्ये करिब ११ प्रतिशत गम्भीर कुपोषणको सिकार छन् । भोकमरी प्रभावित क्षेत्रमा प्रति १०,००० जनामा दैनिक २ भन्दा बढी मृत्यु दर्ता भइरहेको UN का तथ्यांक छन् । देशका ८०% अस्पताल बन्द वा क्षतिग्रस्त छन्। सुडानका लागि माग गरिएको ६.२ अर्ब डलर मानवीय बजेटमध्ये अहिले पनि एक–तिहाइ मात्रै जुटेको UN ले जनाएको छ । साथै, सहायता रोकिएको घटनालाई “संभावित युद्ध अपराध” मान्दै ICC ले अनुसन्धान अघि बढाएको छ ।
सन् २०१८ मा औपचारिकरूपमा गृहयुद्ध अन्त्य हुनुभन्दा अघिको पाँच वर्षको रक्तपातमा यो मुलुकमा तीन लाख ८० हजार मानिसको मृत्यु भएको थियो । साट्ठीभन्दा बढी जातीय समूह र एक करोड २० लाख जनसङ्ख्या भएको दक्षिण सुडानले घातक हिंसा, प्राकृतिक विपत्ति र लगातारको राजनीतिक अन्तरविरोधको सामना गरिरहेको छ ।
संयुक्त राष्ट्रका संघलका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले चेतावनी दिँदै भने, “हामी १९९० को दशकको सोमालियाजस्तै ‘पुरानो जमानाको’ भोकमरी सुडानमा फेरि देखिरहेका छौँ । तत्काल कूटनीतिक हस्तक्षेप र सहायतामा पहुँच सुनिश्चित नगर्ने हो भने यो संकट नियन्त्रणबाहिर जान सक्छ ।”